
जाजरकोट,जेष्ठ २७
पोखरीमा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेरी नगरपालिका वडा न-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो। ती दुवै बालकहरु विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए ।
उनीहरू डुबेको स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । तर, दुवै जनालाई अस्पतालले मृत घोष्णा गरेको प्रहरी जानकारी दिए।





